Techie IT
Hetauda Khabar

हेटौंडाका एटीएम साँझ ६ बजेपछि नै बन्द, भन्न २४, खुल्छन् १२ घण्टा


कुनै पनि बैंकले आफ्ना ग्राहकहरूबाट विभिन्न सेवासुल्क बापत शुल्क लिने गर्दछ। त्यसमध्ये एक हो २४ घण्टा एटीएम सेवा।

एटीएम सेवा २४ सै घण्टा खुल्ला हुनुपर्ने हो । नेपाल राष्ट्र बैंकले पनि एटीएमलाई २४सै घण्टा खुल्ला राख्न र सुविधा उपलब्ध गराउन नेपालका बैंकहरूलाई निर्देशन नै दिएको छ। तर हेटौडाका अधिकांश बैंकका एटीएम बुथहरु साँझ पर्नेबित्तिकै बन्द हुने गरेका छन्। जसका कारण सर्वसाधारणहरू समस्यामा पर्ने गरेका छन् ।

हेटौडाका एक दर्जन बढी बैंकहरूका एटीएम मेसिनहरू साँझ ६ बजे नै बन्द हुने गरेका छन्। जसले गर्दा सर्वसाधारणहरूले आफूले चाहेको समयमा एटिएमबाट रकम निकाल्न पाउँदैनन्। विभिन्न सुरक्षाका कारण देखाउँदै बैंकहरुले एटिएम हरु बन्द गर्ने गरेका छन् ।

यहाँका बैंकहरूका आधाभन्दा बढी एटीएमहरू बिग्रिएका हुन्छन् भने मेसिन मर्मतका लागि समेत बैंकले चासो नदेखाउँदा सर्वसाधारणहरु थप मर्कामा पर्ने गरेका छन् । सुरक्षा चुनौतीको बहाना बनाउँदै बैंकहरूले एटीएम साँझमै बन्द गर्नु ग्राहकलाई झुक्याउनु ठगी गर्नु जस्तै हो भन्छन्, सर्वसाधारणहरु ।

बागमती प्रदेशको राजधानी हेटौडा, त्यसमाथि तीनवटा मुख्य राजमार्गले छोएको हेटौडा बजारमा रातको समयमा यहाँका स्थानीय मात्र नभई यात्रुहरूलाई पनि एटीएमबाट रकम झिक्नका लागि निकै समस्या हुने गरेको छ। यात्रामा रहेका यात्रुहरुले रातको समयमा हेटौडा बजारमा एटीएमबाट रकम निकाल्न पाउँदैनन्।

हेटौंडामा सरकारी बैंकहरूका एटिएम समेत अधिकांश बिग्रिएका हुन्छन्। नेपाल बैंक, कृषि विकास बैंक, वाणिज्य बैंक लगायतका बैंकहरुका एटिएम अधिकांश समय बिग्रेर बसेका हुन्छन् तर बनाउनतर्फ बैंकले चासो देखाएका हुँदैनन् । त्यसमाथि दिनभर चल्ने गरेका एटीएम पनि साँझ पर्ने बित्तिकै बन्द हुने गरेका छन्। निजी बैंकका एटिएम त झन् हप्तौं बित्दा पनि बिग्रिएर बसेका हुन्छन्।

‘अहिलेको समयमा खल्तीमा पैसा बोकेर हिँडिँदैन साँझ पर्ने बित्तिकै एटीएम बन्द हुन्छन् पैसा झिक्न पाइँदैन, हेटौडामा निकै समस्या छ’, हेटौडा ११ का एक स्थानीयले भने, ।

बेलुका ७ बजे हेटौडा अस्पताल जान लाग्दा हेटौडा बजारभरका एटिएम मेसिन चाहार्दा समेत पैसा झिक्न नपाएको गुनासो छ मकवानपुर गढी गाउँपालिका ३ का कृष्णदेव जैसीको । ‘चौबीसै घण्टा सुविधा दिने भनेर शुल्क लिएको हुन्छ तर आफूलाई अप्ठ्यारो पर्दा एटीएम प्रयोग गर्न पाइँदैन, यो त बैंकहरूको ठगी नै हो’, उनले भने ।

अहिले पनि यो समाचार तयार पार्दाको समयमा हेटौडाको कृषि विकास बैंक, सिटिजन बैंक, नेपाल बैंक लगायत बैंकहरूको एटीएम मेसिन बिग्रिएको अवस्थामा छ भने केही निजी बैंकका एटिएम मेसिनमा पैसा सकिएको छ।

एटीएम मेसिनको सुविधा २४सै घन्टा उपलब्ध हुने लेखिए पनि हेटौंडामा १२ घन्टा पनि गुणस्तरीय सेवा दिन सकेका छैनन् । त्यसमाथि धेरैजसोमा बिग्रिएका हुन्छन् र आउट अफ सर्भिस लेखिएको हुन्छ । एटीएम मेसिनले भरपर्दो र गुणस्तरीय सेवा दिन नसकिरहेकोे सर्वसाधारणको व्यापक गुनासो आएपनि त्यसको सुनुवाई बैंकहरुले गर्न सकिरहेका छैनन् ।

यहाँ एटीएमको गुणस्तरीय सेवा त छैनन् नै त्यसमा पनि एटीएम खुल्ने समय पनि कटौती गरिएको छ । एटीएमले २४ घन्टा सेवा उपलब्ध गराउनुपर्ने हो । तर, ती मेसिनले दिने सेवा १२ घन्टाभन्दा बढी हुँदैनन् । जसले गर्दा सर्वसाधारण समस्यामा पर्दै आइरहेका छन् ।

उता जिल्ला प्रहरी कार्यालयले भने हेटौडामा कुनै पनि बैंक तथा वित्तीय संस्थामा सुरक्षा चुनौती नरहेको जिकिर गर्छ। एटीएम २४सै घण्टा खुला राख्नका लागि जिल्लाभर कुनै पनि त्यस्तो सुरक्षा चुनौती नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले बताए ।

‘बैंकहरूको आफ्नै आन्तरिक समस्याका कारण बन्द भएका हुन सक्छन् , हेटौडा बजारमा त्यस्तो खासै सुरक्षा चुनौती छैन’, उनले भने । जेन्जी आन्दोलन लगत्तै केही चुनौती देखिएको भए पनि अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरूको आफ्नै समस्याका कारण एटीएम बन्द भएको हुनसक्ने भन्दै उनले भने, ‘हामीले रातको १२ बजे पछि गस्ती गर्दा केही बैंकका सुरक्षा गार्डसँग समेत भेटी अवस्था बुझ्ने र सहकार्य गर्ने गरेका छौं ।


क्याटेगोरी : अर्थबाणिज्य, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट