सरकारी गाडीको मनपरीले हेटौंडाका सडक अस्तव्यस्त, सेतो नम्बर प्लेट छुन ट्राफिकको किन जान्छ सात्तो ?

तपाईँले नो पार्किङमा आफ्ना सवारी साधन एकैछिन पार्किङ गर्नुभयो भने ट्राफिक प्रहरीले जरिवाना तिराउँछ । अझ साँघुरा सडकमा सवारी पार्किङ गर्दा आवतजावतलाई अप्ठ्यारो पर्छ जसका कारण ट्राफिक प्रहरीले सवारी धनीलाई चिट काट्छ या सवारी साधनमा ह्विल लक नै लगाइदिन्छ ।
हेटौडामा जताततै नो पार्किङका बोर्डहरु देख्न सकिन्छ। त्यसो त प्रदेश राजधानी हेटौडामा फराकिला सडक कतै भेटिँदैनन्। जुन सडक पनि साँघुरा र साना छन्। अझै यहाँको स्थानीय सरकारको बेवास्थाका कारण अधिकांश बजार क्षेत्रमा सडकमै एकतर्फी पार्किङको व्यवस्था गरिएको छ। एकतर्फी पार्किङ हुँदाहुँदै पनि खचाखच भरिने हेटौडाका सडकमा दुई तर्फ नै पार्किङ गर्ने नागरिकलाई बानी परेको छ । ट्राफिक प्रहरीको आँखा छलेर नागरिकले पार्किङ त गर्छन् तर एकैछिनमा ट्राफिक प्रहरीले सवारी धनीलाई कि चिट थमाउँछ या गाडीमा ह्विल लक लगाइदिन्छ । उही ट्राफिक प्रहरीले सर्वसाधारणका लागि भने चिट काट्छ तर झण्डावाल र सरकारी सवारी साधनलाई दुई तर्फ नै पार्किङ गरिए पनि निर्वात छाडिदिन्छ
हेटौडा प्रदेश राजधानी बनेसँगै यहाँ दुई दर्जन बढी प्रदेशका मन्त्रालयहरू छन्। सयौंका संख्यामा सरकारी सवारी साधनहरू छन्। त्यसो त यहाँ मन्त्रीका गाडीहरू मिनेट मिनेटमा दौडिरहन्छन्। प्रदेशका मन्त्री, स्थानीय सरकारका उच्च पदस्थ कर्मचारी र अन्य सरकारी सवारी साधनहरुलाई नो पार्किङले छुँदैन । ट्राफिक प्रहरीले पनि उनीहरूलाई कारबाही गर्ने ल्याकत राख्दैन । त्यसै त साँघुरा हेटौडाका सडकमा सरकारी सवारी साधन लाइन लगाएर नो पार्किङमै पार्किङ गरिन्छ । सवारी आवतजावतमा ठूलो असर पर्छ। सर्वसाधारणले भने शास्ती खेप्नुपर्छ तर त्यस्तालाई ट्राफिक प्रहरीले भने कुनै कारबाही गरेको देखिदैन ।
चोकमा कतै कतै ट्राफिक प्रहरी भेटिन्छन् । उनीहरुले मनोमानी ढंगले चिट काट्ने गरेको र सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो समेत आउने गर्छन्। आफ्नो मुड अनुसार चेकिङ गर्ने र हेल्मेटको फिता नलगाएको, सिट बेल्ट नबानेको, लाइट कम बलेको जस्ता कारण देखाई ट्राफिकले सर्वसाधारणलाई चिट काट्ने गर्छन्। अझ नो पार्किङमा सवारी केहीबेर रोके दौडिँदै ट्राफिक प्रहरी आई ह्विल लक लगाएर हिँड्छन्।
तर तिनै प्रहरीले उच्च पदस्थ व्यक्तिलाई भने ससम्मानका साथ पहरेदारको भूमिका निभाउँछन् । हेटौडाका साँघुरा सडकमा मन्त्री तथा कर्मचारीका सरकारी नम्बर प्लेटका सवारी साधनहरू निर्वाद रुपमा नो पार्किङमा पार्किङ गरिरहे पनि ट्राफिक प्रहरीले आँखा चिम्लिने गरेका छन् । यसले नियम र कानुन सानालाई मात्र लाग्ने रहेछ भन्ने आभास गराउँछ।
पार्किङको समस्या हेटौडामा निकै जटिल बन्दै गइरहेको छ। दीर्घकालीन समाधान नखोजिदा हेटौडामा बढ्दो चापसँगै सवारी साधन को सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भइरहेको छ। प्रदेश राजधानी भएपछि थप सवारी साधनको चाप बढिरहेको छ। एक त ट्राफिक व्यवस्थापन नै फितलो र अर्को पार्किङको समस्याले गर्दा यहाँका सडक अस्तव्यस्त हुन्छन् । त्यसैमाथि मन्त्री र सरकारी कर्मचारीका सवारीले सर्वसाधारणलाई निकै सास्ती दिइरहेका छन्।
अर्कोतर्फ जथाभावी सवारी पार्किङ गरिँदा र ट्राफिक प्रहरीले आँखा चिम्लिदा ट्राफिक व्यवस्थापनमा थप समस्या र दुर्घटनाको जोखिम थप निम्तिएको छ । यहाँ सर्वसाधारणलाई ५०० देखि १५०० सम्म चिट थमाउने ट्राफिक प्रहरीले नो पार्किङमै सरकारी सवारी पार्किङ गर्दा कुनै कारबाही गर्दैन । जसले गर्दा ट्राफिक प्रहरीकै आलोचना हुने गरेको छ ।
सरकारी सवारी साधनलाई कारबाही गरे विभिन्न नेताको फोन आउने र धम्कीपूर्ण भाषा प्रयोग गर्दै सरुवासम्मको चेतावनी दिइने बाटोमा उभिएका ट्राफिक प्रहरीको आफ्नै गुनासो छ।
ट्राफिक प्रहरीले यसबारे सर्वसाधारण र सरकारी कर्मचारी बीचमै अन्यायपूर्ण विभेद गर्ने गरेको छ। ट्राफिक व्यवस्थापन चुस्त बनाउने जिम्मा पाएको ट्राफिक प्रहरीले सरकारी होस् या निजी, कानुन बेगर भए तुरुन्त कारबाही गर्ने अधिकार पाएको छ। तर प्रहरी प्रशासन नै सरकारी कर्मचारी र मन्त्रीका सवारीलाई कारबाही गर्न नसक्दा हेटौडामा ट्राफिक व्यवस्थापन भद्रगोल बन्ने गरेको छ।
एक मिनेट सडकमा निजी सवारी रोकिँदा कहिलेकाहीँ त ट्राफिक प्रहरीले अपशब्द नै प्रयोग गर्छन्। तर सोही प्रकृतिमा सरकारी सवारी भने थोरै अगाडि पछाडि सार्ने हिम्मत ट्राफिक प्रहरीको हुँदैन । यसले सानालाई ऐन ठुलालाई चैन भन्ने उखान चरितार्थ गर्छ।
हेटौडाका मुख्य सडक स्कुल रोड, राप्ती रोड, कान्तिराजपथ, नगरपालिका रोड, पारिजातपथ, बैंक रोडलगायतका सडकहरूमा भद्रगोल पार्किङ गरिने गरेको छ। सधै ट्राफिक व्यवस्थापन अस्तव्यस्त पनि यिनै सडकमा हुने गर्दछन्। यिनै सडकमा अधिकांश सरकारी सवारी र झन्डावाल गाडी नो पार्किङ लेखिएकै बोर्डमुनि लामबद्ध राखिएको हुन्छ। तर ट्राफिक प्रहरी भने चुपचाप हेरेर बसिरहन्छ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया