Techie IT
Hetauda Khabar

काभ्रेलाई हेटौडा जोड्न ‘जनमुक्ति मार्ग’मा तीन चरणमा काम


हेटौंडा । बिपी लोकमार्गलाई प्रदेश राजधानी हेटौंडासँग जोड्नका लागि ‘जनमुक्ति मार्ग’ अन्तर्गत विभिन्न सडक खण्डको स्तरोन्नति तथा कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ। प्रदेश राजधानीसम्म सडक मार्ग जोडी छोटो दुरीमा हेटौंडा पुग्नका लागि जनमुक्ति मार्ग अन्तर्गत हाल तीन चरणमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य अघि बढाइएको हो ।

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजु श्रेष्ठले बिपी लोकमार्गलाई हेटौंडासम्म सडक सञ्जालमा जोड्नका लागि हाललाई तीन चरणमा काम भइरहेको बताए । उनले बिपी लोकमार्ग र हेटौंडा जोड्ने मदन भण्डारी राजमार्गसम्म जोड्नका लागि पहिलो चरणमा पिन्थली-रजबास-भूमिचूली-बुढाखानी-तीनखुट्टे १७ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम द्रुत रूपमा भइरहेको बताए ।

उनले उक्त सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ६० करोड रुपियाँमा ठेक्का सम्झौतापछि काम भएकोले समपूरक अनुदानतर्फ चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारले २० करोड र प्रदेश सरकारले २० करोड रुपियाँ विनियोजन गरेको बताए । सिडिई श्रेष्ठले जनमुक्ति मार्ग अन्तर्गत नै महाभारत गाउँपालिकाको तीनखुट्टेदेखि गाउँपालिकाको केन्द्र देविटारसम्मको साढे आठ किलोमिटर सडक कालोपत्रे काम समेत भएको जानकारी दिए।

यसैगरी तीनखुट्टेदेखि देविटार सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षका लागि चार करोड रुपियाँ बजेट विनियोजन भएको छ । उनले बिपी लोकमार्गदेखि हेटौंडा जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि तेस्रो चरणमा महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखि-घर्तीछाप-गोकुलेसम्मको नौ दशमलव ३८० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको काम समेत सुरु भएको बताए। उनले ३९ करोड रुपियाँमा निर्माण हुने उक्त सडक खण्डका लागि चालु आर्थिक वर्षका लागि सात करोड रुपियाँ बजेट विनियोजन भएको बताए ।

कार्यालयले जनमुक्ति मार्ग अन्तर्गत जिल्लाको खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गादेखि मकवानपुरको सिमाना सिक्रे दोभानसम्मको चार किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेका लागि स्रोत सुनिश्चितता भएकोले उक्त सडक खण्डको कामको लागि दुई साताभित्र बोलपत्र आह्वान गरिने जनाएको छ ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बिपी लोकमार्गलाई प्रदेश राजधानी जोड्नका लागि जनमुक्ति मार्ग महाभारत गाउँपालिकाभित्र हाल करिब ३५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको बताए । उनले जनमुक्ति मार्गको अन्य सडक खण्डमा काम भइरहेपनि तीनखुट्टेदेखि देविटारसम्मको सडक कालोपत्रे गर्ने काममा निर्माण व्यवसायीले लापरबाही गरिरहेको बताए ।

बिपी लोकमार्ग र हेटौंडालाई सडक सञ्जालमा जोड्नका लागि काभ्रेपलान्चोकतर्फ बिपी लोकमार्गदेखि पिन्थलीसम्मको करिब आठ किलोमिटर, महाभारत गाउँपालिकाको गोकुलेदेखि–खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गासम्मको करिब ११ किलोमिटर सडकको काम गर्न बाँकी छ ।

यस्तै मकवानपुरतर्फ मकवानपुरको झुरझुरे– भोर्लेनी–सिक्रेदोभानसम्मको करिब १३ किलोमिटर सडक निर्माणको काम गर्न बाँकी रहेको छ । हाल निर्माणको चरणमा रहेका सडक खण्ड र यी तीन खण्ड सडक स्तरोन्नति र कालोपत्रे भएपछि छोटो दुरीमा बिपी लोकमार्गहुँदै हेटौँडा सहज रूपमा पुग्न सकिनेछ ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट