Techie IT
Hetauda Khabar

मीत र आफन्त पर्ने भनेर पाहुना लाग्दै धनमाल लुट्ने युवक पक्राउ


अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एकजनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारका ३५ वर्षीय सन्तोष थापा छन् । उनलाई इलामको माई नगरपालिका-३ बाट पक्राउ गरिएको हो । उनको साथमा रहेको आधार कार्डका आधारमा उनलाई यसरी पहिचान गरिएको प्रहरीले जनाएको छ ।

मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने काममा थापा सक्रिय थिए ।

इलामको माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा स्थानीयको पाहुनाका रुपमा बास बसेर नगद, मोटरसाइकल, गहनालगायत धनमाल लुटेको प्रहरीले जनाएको छ ।

गत मंसिर ५ गते राति माई नगरपालिकाको कालीखोलाका ५६ वर्षे धनबहादुर केरुङ र ६८ वर्षीय पूर्णबहादुर आले मगरको घरबाट १८ हजार आठ सय, एउटा ल्यापटप, एउटा टिभी, दुइटा मोबाइलसहित करिब एक लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटिएको थियो । त्यस घटनामा थापाकै संलग्नता रहेको जनाइएको छ ।

पक्राउ परेका थापाले झापा र मोरङका विभिन्न स्थानमा पनि यसैगरी धनमाल लुटेर भाग्ने गरेको पाइएको छ ।

गाउँ गाउँ पुगेर स्थानीयको घरमा बास माग्ने र अनेक साइनो लगाएर विश्वस्त बनाउने उनको जुक्ति पाइएको छ ।

कहिले छोराको मीत हुँ भन्ने, कहिले कुनै टाढाको आफन्त भएको बताउने अनि कहिले भारतीय लाहुरे हुँ भन्ने उनले आफ्नो साथमा १० वर्षीय छोरा पनि साथै लैजाने गरेको पाइएको छ ।

ठाउँपिच्छे फरक फरक नाम र ठेगाना बताएर बास बस्ने गरेको पनि खुलेको प्रहरीले जनाएको छ ।

उनले बास बसेको घरमा भएका धनमाल लुटेर भोलिपल्ट भाग्ने गरेका थिए । थापालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कोही उनीबाट ठगिएको भए जानकारी दिन पनि प्रहरीले सूचित गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट