Techie IT
Hetauda Khabar

बागमतीमा को बन्ला मुख्यमन्त्री ? कांग्रेसमा बानियाँको सम्भावना बलियो


बागमती प्रदेशका लागी प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले गत शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण सहितको प्रतिवेदन पेस गरे संगै बागमती प्रदेश सरकार गठनका लागी बाटो खुलेको छ ।

सरकार गठनको प्रक्रिया अघि बढेसंगै प्रदेशको मुख्यमन्त्री को बन्ने भन्नेमा ठुलै रस्साकस्सी छ । बागमतीमा यस अघि नेकपा एमालेको स्पस्ट बहुमत भएपनि यसपाली एमालेलाई ठुलै घक्का लागेकाले यहाँ सत्ता गठबन्धनको सरकार बन्ने लगभग निश्चित छ । गठबन्धनकै सरकार बन्ने भएपछी नेतृत्व गरिरहेको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस मुख्यमन्त्री नछाड्ने गरी गृहकार्य गरिरहेको छ ।

प्रदेश र देशकै पहिलो पार्टी बनेकाले पनि मुख्यमन्त्रीमा कांग्रेसको दावी स्वाभाविक भएपनि गठबन्धनमा रहेका दलहरु विच भागबन्डा मिलाउनु जटिल विषय हो ।

बागमतीमा मुख्यमन्त्री पाउनुपर्ने गठबन्धनका तिनै दलले दावी गरिरहेका छन् । यद्दपी नेपाली कांग्रेस अझै बलियो दावेदारको रुपमा रहेको छ ।
मुख्यमन्त्री बन्नको लागी दल भित्रको संसदीयदलको नेता छान्नु जरुरी रहन्छ । नेपाली कांग्रेस भित्र बागमतीको मुख्यमन्त्रीमा २ समुहका व्यक्तिको नाम चर्चामा आएसंगै कांग्रेसको संसदीयदलको विषय अर्को चासोको विषय बनेको छ । संसदीयदलको नेतामा २ जना आकांक्षी देखिएपछी कांग्रेस बागमतीको संसदीयदलको निर्वाचन गर्नेसमेत कांग्रेसले निर्णय गरिसकेको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय निर्णयसँगै प्रक्रिया शुरु भएको छ । बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि  बागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको छ ।

त्यस्तै सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्री बन्ने दाउमा छन्। बागमतीमा मुख्यमन्त्री बन्ने पालो माओवादीको भएको तर्क गर्दै जम्कट्टेल मुख्यमन्त्रीको कसरतमा छन्। दुईपटक प्रदेशमन्त्री भइसकेका जम्कट्टेल धादिङ १ (ख) बाट निर्वाचित भएका हुन्।

माओवादीबाटै मकवानपुर २ (क) बाट निर्वाचित कुमारी मोक्तान पनि मुख्यमन्त्रीका आकांक्षी हुन्। मोक्तान हाल प्रदेशको सामाजिक विकास मन्त्री छिन् । त्यस्तै गठबन्धनको अर्को दल एकीकृत समाजवादीमा पनि मुख्यमन्त्रीको आकांक्षी छन् । सानो दल भएपनि पार्टीका नेता कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्रीको आकांक्षी हुन्। खनाल चितवन १(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कांग्रेसमा को बलियो ?

गठबन्धनको नाइके नेपाली कांग्रेसको अबको मुख्यमन्त्री कांग्रेस बागमतीका सभापती इन्द्र बानियाँ नै हुन् भन्ने हल्ला केही समय अघिदेखिनै चलेको थियो । त्यसो त प्रदेशमा एमालेको सरकार ढलेपछि एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र बानियाँ बीच आधाआधा मुख्यमन्त्री बन्ने सहमती बनेको भएपनि पाण्डेले बानियाँलाई मुख्यमन्त्री नछोडेकाले पनि अब उनैको पालो हो भनिएको छ । बानियाँ मकवानपुर २ (ख) बाट निर्वाचित भएका छन् ।

काग्रेसबाटै बहादुरसिंह लामा पनि मुख्यमन्त्रीका अर्का दाबेदार हुन् । लामा नुवाकोट २ (ख) बाट विजयी सांसद हुन्। प्रतिनिधिसभामा चुनाव लड्न खोजेका लामालाई मुख्यमन्त्रीमा समर्थन गर्ने आश्वासन दिएर नेताहरूले प्रदेशमा पठाएकाले अब उनैलाई बनाउनुपर्ने केही कांग्रेसीको माग छ । बानियाँ र लामा दुवै जना कांग्रेसको संस्थापन पक्षका नेता हुन् । केन्द्रीय सदस्यसमेत रहेका लामा प्रदेशसभा सदस्य निर्वाचित भएलगत्तै दलको नेता बन्ने कसरतमा जुटेका हुन् भने कांग्रेस बागमती प्रदेशको सभापति बानियाँले यसअघि पनि सरकारको नेतृत्वमा दावी गर्दै आएका थिए ।

प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको संस्थापनबाटै २ जनाको दावी परेपछि कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य समेत विभाजित भएका छन् । हाल प्रदेशमा कांग्रेसले प्रत्यक्ष तर्फ २५ सिट जितेको छ भने समानुपातिकतर्फ १२ सिट गरी ३७ सिट जितेको छ ।

३७ सांसद मध्ये अधिकांस सस्थापन पक्षका रहेका छन् । दुवै सस्थापन पक्ष भएपनि केही समय अघिदेखि बानियाँलाई कांग्रेसको इतर समुहले सहयोग गर्ने बताएको छ । तर यी दुबै नेतालाई आ-आफ्नो भूगोलका केन्द्रीय स्तरका नेताहरुको सहयोग भने रहेको छैन । कांग्रेसकी सह महामन्त्री समेत रहेकी मकवानपुरकी माहालक्ष्मी उपाध्याय डिनाले सहयोग गरेकी छैनन् भने उता लामालाई नुवाकोटमै केन्द्रीय नेता अर्जुन नरसिंह केसीलगायतका नेताले सहयोग गरेका छैनन् । तर बानियाँलाई सस्थापन इतरले पनि सहयोग गर्ने भएपछी संसदीय दलको नेतामा उनको सम्भावना बलियो देखिएको छ ।

अर्को तर्फ निर्वाचनको समयमा बानियाँले १० जना प्रदेश सदस्यहरुलाई टिकट वितरण गरेका थिए । जस मध्ये अधिकांशले निर्वाचन जितेका छन् । कांग्रेसको विशेष स्रोतका अनुसार बानियाँको पक्षमा २६ भन्दा बढी सांसद रहेका छन् भने लामाको पक्षमा आधादर्जन सांसदको साथ रहेको छ ।

गएको निर्वाचन सकिएलगत्तै बानियाँ हेटौंडा छोडेर काठमान्डौमा रहेका छन् उनले कुनैपनि हालतमा संसदीयदलको नेता बन्ने र बागमती प्रदेशको मुख्यमन्त्री बन्ने गरी लबिङ गरीरहेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट