Techie IT
Hetauda Khabar

एपीएफलाई हराउँदै मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधी


हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मछिन्द्र फुटबल क्लबले जितेको छ ।

बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्रले उपाधी जितेको हो ।

मछिन्द्रको जीतमा विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गरे । खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै चिजोवाले खेलको दोस्रो हाफको १२ औं मिनेटमा र १८ औं मिनेटमा गोल गरे । मछिन्द्रले एक गोल भने आत्मघाती उपहार पाएको हो । खेलको दोस्रो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन समीरको प्रहार एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे ।

उपाधी हात पारेको मछिन्द्रले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले ५ लाख रुपैयाँमा चित्त बुझाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका उत्सव राई घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मछिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने घोषित भए । विधागत उत्कृष्ट सबैले २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको अवसरमा आयोजकले समृद्ध समाज राष्ट्रिय दैनिकका सञ्चारकर्मी रविन्द्र वाईबालाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । वाईबालाई १५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

यस्तै रेडियो झुरझुरका विवेक सिंतान, बागमती संदेशका आषिश बल, गोल नेपालका विक्रम बानियाँ र अनिरुद्ध खबरका अनिल पराजुलीलाई पनि सम्मान गरिएको छ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट