Techie IT
Hetauda Khabar

सेनाले चलाउने भनेको हेटौंडा कपडा उद्योगको यस्तो छ अवस्था (तस्बिरहरु)


हेटौंडा । केन्द्रका उद्योगमन्त्रीदेखिको प्रधानमन्त्रीसम्मले समय समयमा बन्द अबस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउँछौँ भन्ने कथन लोकप्रिय भाषण गर्ने विषय जस्तै बनेको छ । सकारको बजेटमा वर्सेनि जसो समेटिने हेटौंडा कपडा उद्योग पुनः संचालनको विषय पुनः दोहोरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योगसहित बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न छलफल अघि बढाएका छन् । गत आर्थिक बर्षको बजेटमा समेट समेटिएको हेटौंडा कपडा उद्योग संचालन गर्ने १५ वर्षदेखि सरकारले बताएपनि कार्यान्वयनको प्रक्रिया भने अघि बढ्न सकेको देखिदैन ।

प्रधानमन्त्री दाहालले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन्।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो।

विसं २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विसं २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले उद्योग पुनः सञ्चालनको विषय नीति तथा कार्यक्रममा समावेश गरेपश्चात नेपाली सेनाले सोको सम्भावना अध्ययन गरेको थियो। सो प्रतिवेदनको सारसंक्षेप नेपाली सेनाले बुधबार प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको हो।

यस्तो छ उद्योगको हालको अवस्था

हेटौंडा औद्योगिक क्षेत्रको १९२ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योगका भवनहरु जीर्ण भइसकेका छन् । वार्षिक २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता रहेको यो उद्योगको हालको अवस्था निकै दयनीय छ ।

अहिले उद्योग परिसरमा ससस्त्र प्रहरीले आफ्नो क्याम्प खडा गरि बस्दै आएको छ । उद्योग उद्योगका भवन पुर्णरुपमा जिर्ण बनेका छन् ।

११ सय जनालाई रोजगार दिदैं नाफामा चलेको उद्योग भित्र जब २०५० तिर राजनीतिले प्रवेश पायो त्यसपछी उद्योगको दुर्गति सुरु भयो । ट्रेड युनियनको नाममा भएको राजनीति र दलले आफ्ना नेता तथा कार्यकर्ताको भर्तीकेन्द्र बनाउँदा नाफामा रहेको उद्योग २०५७ सालसम्म आइपुग्दा पूर्ण बन्द भयो ।

केही वर्षयता चर्चामा आउन र जस पाउनकै लागि हरेक वर्ष भाषणमा जिर्ण उद्योगलाई संचालन गरिने भन्दै सरकारले जनताको आँखामा छारो हाल्ने गर्छ । सरकारले हरेक वर्ष खुलाउछौं भनेको यो उद्योगको पुनः संचालन प्रक्रिया कहाँ पुगेको छ र के भैरहेको छ अत्तोपत्तो छैन ।

उद्योगले ११ सय जनालाई रोजगारी मात्रै दिएको थिएन, उनीहरूलाई घर बनाउने जग्गा, आवश्यक ऋण उपलब्ध गराउनुका साथै उद्योगमा काम गर्ने कर्मचारीका छोराछोरीलाई पढाउन विद्यालय नै सञ्चालन गरेको थियो।

आफ्ना कर्मचारीका छोराछोरी पढाउन विद्यालय सञ्चालन गरेको हेटौंडा कपडा उद्योगले स्कुल बससमेत राखेर त्यति वेलै बालबालिकालाई बसबाट विद्यालय ओसारपसार गर्थ्यो। अहिले ती बस उद्योग परिसरमा जीर्ण अवस्थामा छन्।

उसो त उद्योगमा काम गर्ने कर्मचारीका छोराछोरी पढ्न बनाइएको विद्यालयको अवस्था पनि दुःखदायी छ। दुई तलाको लामो कोठैकोठाले भरिएको भवनमा यति वेला घाँस, झार र लेउ उम्रिएको मात्रै छैन, जीर्ण भएर पूरै भत्किने अवस्थामा पुगेको छ।

झट्ट हेर्दा त्यो भवन विद्यालय सञ्चालन गर्न होइन भूत्याहा फिल्म बनाउन निर्माण गरिएको जस्तै देखिन्छ। द्योगको अवस्था पनि उस्तै छ। दुई दशकदेखि बन्द भएको उद्योग हालसम्म सञ्चालनमा नआउँदा त्यहाँको मेसिनमात्रै होइन भवन नै कमजोर बनिसकेको छ।

वर्षौदेखि नखुलेको उद्योगभित्र करोडौंका मेसिन काम नलाग्ने अवस्थामा पुगेका छन्।

सरकारका कुरा पुरा हुने आसमा यो जिर्ण उद्योग प्रतिक्षामा बसेको कयौ वर्ष भैसक्यो तर कुनै सरकारले यो उद्योगलाई पुनर्जन्म दिन सकेको छैन । अहिले यो उद्योग खण्डहर बनेको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट