Techie IT
Hetauda Khabar

बागमती प्रदेशमा १२ हजार हेक्टर जमिन बाँझो


हेटौंडा–बागमती प्रदेशमा करिब १२ हजार हेक्टर जमिन बाँझो रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार बागमती प्रदेशमा कुल सरदर २ लाख ५० हजार पाँच सय ६७ हेक्टर क्षेत्रफलमा कृषि जमिन रहेकोमा ११ हजार आठ सय ५४ हेक्टर जमिन अस्थायी बाँझो रहेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार हेटौंडामा कृषि गणना २०७८ को बागमती प्रदेशस्तरीय तथ्यांक सार्वजनिक गर्दै प्रदेशभित्र ११ हजार ८ सय ७९ हेक्टर जमिनमा मात्रै स्थायी बाली लाग्ने गरेको बताएको छ । प्रदेशका १३ जिल्लाका २ लाख १९ हजार तीन सय ५७ हेक्टर जमिनमा अस्थायी बाली लाग्ने गरेको तथ्यांकले देखाएको छ । कृषि जमिनमध्ये १ हजार ८ सय ५९ हेक्टरमा अस्थायी र ५ हजार ६ सय १८ हेक्टर जमिनमा स्थायी चौरचरन हुने गरेको छ । प्रदेशभित्र कुल २ लाख ८२ हजार हेक्टर कृषि चलन क्षेत्रको जमिन रहेकोमा त्यसमध्ये १९ हजार चार सय ६७ हेक्टर जमिन घर आँगन र गोठले ढाकेको तथ्यांकले देखाएको छ । त्यसबाहेक निजी वन, पोखरी र अन्य जग्गा रहेका छन् ।

कार्यालयको तथ्यांकअनुसार देशभर अस्थायी बाँझो रहेको जग्गा सरदर ६० हजार हेक्टर रहेको छ । १० वर्षको अवधिमा अस्थायी बाँझो जमिन बढेर गएको तथ्यांकले देखाएको छ । बागमती प्रदेशमा करिब १५ लाख ७० हजार घर परिवार रहेकोमा कृषक परिवारको संख्या ६ लाख ६८ हजार रहेको कार्यालयले गरेको अध्ययनबाट पत्ता लागेको छ ।

बागमती प्रदेशमा मुख्य बालीको रुपमा धान, मकै, गहुँ र तरकारी रहेका छन् । सबैभन्दा बढी जमिन १ लाख ३८ हजार ६९ हेक्टरमा मकै खेती हुने गरेको छ भने १ लाख ४ हजार ५ सय ५८ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । २४ हजार ५ सय ८० हेक्टर जमिनमा गहुँ र २९ हजार १ सय ११ हेक्टर जमिनमा तरकारी खेती हुने गरेको कृषि गणनाबाट पत्ता लागेको छ । बागमती प्रदेशमा आँप, केरा, सुन्तला, कागती र स्याउ मुख्य फलफूलको रुपमा खेती हुने गरेको छ । प्रदेशभित्र ५ सय ३२ हेक्टर क्षेत्रमा आँप, एक हजार १ सय २० हेक्टर क्षेत्रमा केरा, ६ सय ८८ हेक्टर क्षेत्रमा सुन्तला, ४ सय ६० हेक्टर क्षेत्रमा कागती उत्पादन हुने गरेको छ ।

कृषि उत्पादनको लागि औजारका रुपमा आधुनिक उपकरणको प्रयोग गर्ने पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । बागमती प्रदेशमा कृषि औजारको रुपमा फलामे हलो प्रयोग गर्नेको कृषक १४ दशमलव ८ प्रतिशत, ट्याक्टर प्रयोग गर्ने ३० दशमलव ८ प्रतिशत र पावर टिलर प्रयोग गर्नेको संख्या १६ दशमलव ७ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डिल्लीराज जोशीले जानकारी दिए । कार्यालयले प्रदेश, जिल्ला तथा स्थानीय तहगत रुपमा पशुपंक्षीको गणनासमेत गरेको छ । सार्वजनिक गरेको तथ्यांकअनुसार बागमती प्रदेशमा गाईगोरुको संख्या ५ लाख ८५ हजार वटा रहेका छन् भने ४ लाख ५४ हजार राँगाभैंसी, २९ लाख ७ हजार बाख्रा च्याङ्ग्रा, १ लाख २५ हजार वटा सुँगुर बंगुर रहेको जनाइएको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डिल्लीराज जोशीलगायतले सोमबार कृषि गणनाको प्रादेशिक तथ्यांक सार्वजनिक गरेका हुन् । हरेक १० वर्षमा हुँदै आएको कृषि गणना २०७८ चैतदेखि २०७९ जेठसम्म सञ्चालन गरिएको थियो । ७७ वटै जिल्लामा कार्यालय स्थापना गरी करिब ७ हजार जनशक्तिबाट कृषि गणना गरिएको कार्यालयले जनाएको छ । सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी ३ लाख ३० हजार १ सय १२ कृषक परिवार छनौट गरी तथ्यांक लिइएको थियो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट