Techie IT
Hetauda Khabar

मकवानपुरको बागमती गाउँपालिकामा सिन्धुली र काभ्रे जोड्ने २ वटा पुलको शिलान्यास


हेटौंडा । बागमती गाउँपालिकामा दुई जिल्ला जोड्ने एकैदिन दुईवटा पुलको शिलान्यास गरिएको छ ।

शुक्रबार बागमती-५ भोर्लेनी र सिन्धुली हरिहरपुरगढी गाउँपालिका-१ चिसापानी जोड्ने १९४.२० मिटरको झोलुङ्गे पुल (सस्पेन्सन ट्राईल बृज) र सोही वडाको ठाडेखोलामा काभ्रे जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ ।

बागमती प्रदेश सभाका सांसद प्रेम बहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको उपस्थितिमा पुलको शिलान्यास गरिएको हो ।

ठाडेखोलामा बन्ने पक्की पुलले बागमती गाउँपालिका देखि काभ्रेको खानिखोला जोड्ने जनमुक्ति मार्ग अन्तर्गत बगेरी र लिलावन जोड्ने छ ।

चालु आर्थिक बर्षको बागमती प्रदेश योजना तथा भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित बजेटमा २ करोड १२ लाखमा तान्डव सरस्वती जेवि हेटौंडाले टेण्डर हात परेको छ ।

पुलको चौडाइ ८ मिटर, लम्बाई २५ मिटरको पक्की पुल बन्ने भएको छ । उक्त योजना समयमै सम्पन्न गर्न पालिका अध्यक्ष घलान र सांसद पुलामीले आग्रह गरेका छन् ।

शुक्रबार नै बागमती ५ र सिन्धुलीको हरिहरपुरगढी १ चिसापानी जोड्ने झोलुङ्गे पुलको समेत शिलान्यास भएको छ ।

१९४.२० मिटरको सस्पेन्सन ट्राईल बृजको दावा कन्ट्रक्सनले टेन्डर पारेको छ । उक्त पुलको सांसद पुलामी, बागमती गाउँपालिकाको अध्यक्ष घलान र हरिहरपुरगढी गाउँपालिका १ का पुर्व वडा अध्यक्ष कार्साङ घलानले संयुक्त शिलान्यास गरेका हुन् ।

उक्त कार्यक्रममा बागमती गाउँपालिका प्रशासकीय प्रमुख झम्क नारायण घलान, नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परिषद सदस्य ज्ञान सागर भोलन, बागमती-३ का वडा अध्यक्ष कमान सिङ पाख्रीन, बागमती-५ का वडा अध्यक्ष बिजय भोलन लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट