Techie IT
Hetauda Khabar

प्रेस चौतारी नेपाल मकवानपुरको कार्यालय उद्घाटन


हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरको कार्यालय उद्घाटन गरिएको छ ।

कार्यालयको शनिबार प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् । हेटौँडा उपमहानगरपालिका–४ मा कार्यालय स्थापना भएको छ ।

कार्यालय उद्घाटन गर्दै लामाले प्रेस चौतारी नेपालको कार्यालयलाई संगठनको कामका साथै समाचार लेखन तथा पत्रकारको जमघट र अनुभव आदानप्रदान गर्ने थालेको रूपमा विकास गर्न सुझाव दिए । संगठनको कार्यालयलाई रिसर्च सेन्टरको रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव तथा बागमती प्रदेश इञ्चार्ज विष्णु तारुकेले कार्यालय स्थापना भएपछि छरिएका काम गर्दै आउनुभएका पत्रकारले एक ठाउँमा भेला भएर काम गर्ने वातावरण बनेको बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाईँ, बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापा लगायतको सहभागिता रहेको थियो । प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसैगरी प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’ का चुनौती र सम्भावना विषयक दुई दिने कार्यशाला पनि सम्पन्न भएको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको हो । समापन मन्तव्य राख्दै श्रेष्ठले कार्यशालाले नयाँ सिप र प्रविधिको प्रयोग गरेर अघि बढ्न पत्रकारलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले अबको युग डिजिटल युग भएकाले पत्रकारिता त्यस तर्फ जानै पर्ने बताए । उनले पत्रकारलाई प्रविधिको अधिक प्रयोग गरेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा पनि प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव तथा वाग्मती प्रदेश इन्चार्ज विष्णु तारुके लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट