Techie IT
Hetauda Khabar

मकवानपुरका १० स्थानीय तहलाई एकल महिला कोष कार्यान्वयनमा जोड


हेटौंडा । मकवानपुरका १० वटै स्थानीय तहमा एकल महिला सुरक्षाकोष कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ ।

मानव अधिकारको लागि महिला, एकल महिला समुह मकवानपुरले बिहीवार जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकामा सुरक्षा कोष कार्यान्वयनका लागि ज्ञापन पत्र बुझाएको हो ।

मानव अधिकारको लागि महिला, एकल महिला समुह मकवानपुरकी अध्यक्ष शारदा बञ्जारालगायतले सहायक प्रमुख जिल्ला अधिकारी झरेनद्रप्रसाद चापागाईं र हेटौंडाका उपप्रमुख राजेश बानियाँलाई एकल महिला सुरक्षाकोष कार्यान्वयनका लागि अनुरोध गरेका हुन् ।

संस्थाले एकल महिलाहरुको हक अधिकार, न्याय र सहभागिता, लैंगिक समानता, मानव अधिकार, शान्ति तथा मानवीय सहयोगको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

अध्यक्ष बञ्जाराले नेपाल सरकार महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिलाको सक्तिकरण, क्षमता तथा मर्यादा अभिवृद्धि गरि सामाजिक तथा आर्थिक दृष्ट्रिले कमजोर तथा विपन्न वर्गका एकल महिलाहरुको हित र संरक्षण तथा प्रवद्धनको लागि एकल महिला सुरक्षाकोष स्थापना गरेको बताइन् ।

त्यतिबेला कोष स्थापना गरेपनि संघीयता आएसँगै कोष स्थानीय तहकरण भएको तर, कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

कोषवाट लक्षित वर्गका एकल महिलाहरुले उद्दार, राहत तथा पुनःस्थापन, औषधि उपचार, कानूनी सहायता, शिक्षा र सीपमूलक तालिम तथा स्वरोजगार कार्य संञ्चालन गर्न कोष मार्फत सहयोग प्राप्त गर्न सक्ने व्यवस्था छ ।

तत्कालीन समयमा जिल्लास्तरीय समिति गठन गरि महिला बालवालिका कार्यालयको मातहतमा रहि कोष परिचालन समेत भइसकेको थियो ।

राज्य व्यवस्था संघीय प्रणालीमा गएपछि महिला बालवालिका कार्यालय खारेजी हुँदा कोष पनि संचालनमा आउन नसकेको अध्यक्ष बञ्जाराले बताइन् ।

एकल महिला सुरक्षाकोष मापदण्ड संसोधन गरी ७ सय ५३ तहका स्थानीय तहमार्फत लक्षित वर्गका एकल महिलाहरुलाई सहयोग गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट ३२ साउन २०८० मा स्थानीय तहलाई कोष स्थानीयकरणका लागि परिपत्र समेत जारी गरिसकेको अवस्थामा कार्यान्वयन नभएको बञ्जाराले बताइन् ।

जसकारण सम्बन्धीत मन्त्रालयवाट परिपत्र जारी भईसके पनि एकल महिला सुरक्षाकोष प्रकृयागत रुपमा हालसम्म पनि अगाडि बढन नसकेकोले ध्यानाकर्षण गराइएको उनले बताइन् ।

एकल महिला कोष कार्यान्वयनमा नआउँदा स्थानीय तहमा रहेका थुप्रै विपन्नताको जोखिममा परेका एकल महिलाहरु कोष मार्फत सहयोग लिनवाट बञ्चित भएको अध्यक्ष बञ्जाराले बताएकी छन् ।

लक्षित वर्गका एकल महिलाहरुको सामाजिक न्यायमा अभिवृद्धिको लागि एकल महिला कोष कार्यान्वयनको लागि प्रभावकारी भुमिका निभाउन ध्यानाकर्षण गराइएको उनले बताइन् ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट