Techie IT
Hetauda Khabar

उत्सव चौलागाईंको कविता- ‘रात र कर्तुत’ !


दिनभरि आदर्शका

खोक्रो खोल ओढेर बस्नेहरू

जब सूर्यले पश्चिमतिरको बाटो तताउँछ

तब तिनीहरू पनि विस्तारै

नाङ्गिदै जान्छन् रातहरूमा ।

रातका अँध्यारा काला धर्काहरूसँगै

फेरिन्छन् तिनीहरूका परिचय

जस्तो कि फेरिरहन्छन् छेपारा रङ ।

यो अश्लीलता

रातको माग हो उनीहरूको परिभाषानुसार

उज्यालो पन्छ्याउनु उनीहरूको कर्म हो

जो हामीले कालो करार गरेका छौँ ।

उनीहरू खोक्रो आदर्श र इमानदारितालाई

दिनभर कायम राख्नु

आफ्नो कर्तव्य ठान्छन्

र उज्यालोको नैतिकता मान्छन् ।

दिउँसो देखिने रुपहरू

न नक्कली हो

न कुनै प्रहसन हो

यो उनीहरूको नृत्यकर्म हो

जस्तो कि अधिकांश मानिसहरूलाई

भट्टी पस्न पनि रात नै चाहिन्छ ।

राष्ट्रपतिद्वारा अध्यादेश पनि

रातमै जारी हुन्छन् ।

प्रधानमन्त्री निवासमा

मल्टिनेशनल व्यापारीहरूको घुइँचो पनि

रातमै हुने गर्छन्

दूतावासहरूको अतिथि सत्कार पनि रातमै हुने हो ।

अबोध बालिका र निर्दोष स्त्रीहरू पनि

अँध्यारो कोठामा लुटिन्छन्

प्यासीहरूलाई रातमै तिर्खा लाग्छ

बाटो पनि रातमै सजिलो हुन्छ भागदौडका लागि ।

उल्लु आँखाहरू पनि रातमा मात्र देख्ने हुन्छन् ।

त्यहीँ रातमा त हो

इज्जतको ट्याङ्की भर्न सजिलो हुने

त्यहीँ रातमा हो पार्टी कार्यालयभित्रबाट

गाढा अक्षरले प्रेमिकाको नाम

सिफारिस गरी पठाउने नियुक्तिका लागि ।

त्यहीँ रातमै हो

ठुलाघरे काकाको घर लुटिने

हो यो त्यहीँ रात हो

मास्लो घरे भाइको घाँटी रेटिने

हो यो त्यहीँ रात हो,

संविधानको हत्या हुने

सत्ता, सदनको विघटन हुने

यी सबै कुराहरू

दिनभर घामको रापले ओइल्याउँछन्

र रात अनुकूल बनिदिन्छन् ।

जब मेरो गाउँमा

रातका काला बादलसँगै

उज्यालो जून हरायो हेर्दाहेर्दै

तब आकाश खसालेर गाउँकै दृष्टि काला बनाइए

हो त्यहीँ दिनदेखि म रातदेखि सचेत छु ।

रातका महाराजहरू हो

रात सधैँ तिम्रा लागि हुँदैनन्।

तिम्रा दरबारहरू

आगोले खाएको इतिहास पनि

रातकै हो ।

रातमा केही देखिन्न भन्ने भ्रम

कालो रातमा कालो जल्दा पनि

सेतो खरानीले चिरिदिन्छ ।


क्याटेगोरी : विचार/ब्लग, साहित्य, स्थानिय

प्रतिक्रिया


ताजा अपडेट