हेटौंडा सडक विस्तार विवाद – मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश
हेटौंडा सडक विस्तारसम्बन्धी विवादको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा पेस हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलाशले मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश गरेको हो ।
आजको सुनुवाइमा विपक्षिको तर्फबाट महान्यायाधिवक्त्ताको कार्यालय र हेटौंडा उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता सुजन तिमल्सिनाले बहस गर्नुभएको थियो ।
विन्दवासिनी कंसाकार, महारत्न बज्राचार्य लगायतले दायर गरेको मुद्धामा पटक पटक हेर्न नभ्याइने र नमिल्ने भन्दै स्थगित भएको थियो । यस अघि न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले एकै प्रकृतिको अर्को मुद्धा समेत थपिएकाले लगाउमा राख्ने आदेश गरेको थियो । आजको सुनुवाई पछी भने सडक विस्तार विवाद किनारा लाग्ने अपेक्षा गरिएको थियो ।
आजको सुनुवाई पछी हेटौंडा सडक विस्तारसम्बन्धी विवादको मुद्धा संयुक्त इजलासले पूर्ण इजलासमा पेश गर्ने आदेश गरेको हेटौंडा उपमहानगरपालिकाको तर्फबाट बहस गर्नुभएका अधिवक्ता सुजन तिमल्सिनाले हेटौंडाखबरलाई जानकारी दिनुभयो ।
यस मुद्धामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; सडक विभाग पाटनढोका ललितपुर; सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर; संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं; जिल्ला प्रशासन कार्यालय हेटौंडा मकवानपुर; जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा हेटौंडा उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ।
स्थानीयवासी र सरोकारवालाहरूले सडक विस्तार ढिलाइ हुँदा दैनिक आवतजावत, व्यापार व्यवसाय र समग्र शहरी व्यवस्थापनमा समस्या भइरहेको गुनासो गर्दै आएका छन्। आजको पेशीले मुद्दाको दिशा तय गर्ने र सडक विस्तारको भविष्यबारे स्पष्टता आउने अपेक्षा गरिएपनि मुद्धा पुनः लम्बिएको छ ।
प्रकाशित मिति : आइतवार, २०८२ माघ १८, १६ :१९ बजे


















प्रतिक्रिया