Techie IT
Hetauda Khabar

हेटौंडामा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै औषधि व्यवसायी संघ, किन हुँदैन कारबाही ?


हेटौंडामा औषधि व्यवसायी संघले  गम्भीर लापरबाही गर्ने गरेको पाइएको छ । यहाँका निजि स्वास्थ्यसस्था संग रकम उठाएर औषधिजन्य जोखिमपूर्ण फोहोर जथाभावी फाल्ने गर्ने पाइएको हो ।

स्वास्थ्यसस्थाबाट निस्किने खतरनाक फोहोरलाई निसंक्रमण गरी, वैज्ञानिक तथा आधुनिक उपकरण मेडिकल अटोक्लेवबाट निर्मलीकरण गरेर व्यवस्थापन गर्नुपर्ने भएपनि यहाँका अधिकांस निजि स्वास्थ्यसस्थाबाट निस्किने फोहोर हेटौंडा-१० राप्ति बगर स्थित ल्यान्डफिल साईटमा त्यसै फाल्ने गरिएको छ । यो मानव स्वास्थका लागि निकै नै खतरापूर्ण हो । मानवस्वास्थ्य मात्र नभई स्वास्थ्य संस्थाबाट निस्किएका खतरनाक रसायनिक पदार्थहरु जमिनको सतहमा जाँदा माटोको उत्पादकत्व घट्ने र पिउने पानीको स्रोत दूषित हुने तथा ल्याण्डफिल साईट आसपास क्षेत्रको वातावरणमा नकारात्मक असर पर्ने विज्ञहरु बताउछन् ।

तर त्यस्ता जोखिमयुक्त फोहोर हेटौंडामा भने खुलेआम जताततै फाल्ने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले १५ प्रतिशत सामग्रीलाई खतरनाक फोहोरको रुपमा वर्गिकरण गरेको छ। जुन, संक्रामक, रासायनिक वा रेडियोधर्मी पनि हुन सक्छ। स्वास्थ्यजन्य फोहोरमा सम्भावित हानिकारक सूक्ष्मजीवहरू हुन्छन्। जसले सर्वसाधारणलाई संक्रमित तुल्याउन सक्छ। यस्ता सूक्ष्मजीवहरू स्वास्थ्य संस्थाबाट सिधै वातावरणमा पनि फैलिन सक्छन्। लापरबाही भएमा अस्पतालदेखि ल्यान्डफिल साईटसम्म ठोक्किने मानिसमा उपचारका क्रममा प्रयोग भएको विषाक्त वा संक्रामक धारिलो सामग्रीको उच्च जोखिममा पर्ने गर्दछन्। साथै यसले श्वासप्रश्वास सम्बन्धी समस्या, एचआईभि एड्स र हेपटाईटिस ‘बि’ लगायतका रोग र महामारी नै फैलन सक्ने खतरा हुन् सक्ने चिकित्सक बताउछन् ।

तर यस्तो अति संबेदनशील विषयमा औषधि व्यवसायी संघले भने कमाउ धन्दा चलाएका छन् । मासिक रकम उठाउने गरी यहाँका स्वस्थसस्थाबाट निस्केका फोहोर निर्मलीकरण नगरिकनै हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन गर्ने कम्पनी संग सम्झौता गरी त्यस्ता फोहोर जथाभावी फाल्ने गरेको छ ।

अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नभए वा सामान्य त्रुटिले समेत संक्रामक रोग फैलाउन सक्ने सम्भावना बढाउँछ। अझ विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण मास्क, पन्जा र पीपीई लगायतका स्वास्थ्य सामग्रीको खपत बढेसँगै फोहोरमा यस्ता सामग्रीहरुको मात्रा पनि बढेको छ। जसका कारण रोगब्याधि फैलिने सम्भावना बढेको देखिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्य जन्य फोहोरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सो को सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ। साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहोरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड जरिवाना गराउन पाउने अधिकार पनि स्थानीय सरकारलाई प्रदान गरिएको छ। तर हेटौंडा उपमहानगरपालिकाले भने यस्तो गम्भीर विषयमा चासो दिएको छैन । यो विषयमा उपमहानगरपालिका नै बेखबर छ ।

फोहोर व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालजन्य फोहोर व्यवस्थापन निर्देशिका– २०७१ जारी गरेको छ तर सो अनुरुप यहाँ फोहोर व्यवस्थापन हुन सकेको छैन । सम्बन्धित निकायले पनि अनुगमन र निगरानी गरेको छैन । जसका कारण औषधि व्यवसायी संघले गैरकानुनि रुपमा रकम उठाएर ठेकेदारको मिलेमतोमा जथाभावी त्यस्ता फोहोर फाल्ने गरेको छ । यसबारे सम्बन्धित सबै निकायले तत्काल ध्यान दिनु जरुरि छ ।  मानव स्वास्थ्यमाथि यस्तो गम्भीर खेलवाड गर्नेलाई प्रशासनले तत्काल कारवाही गर्नु आवस्यक छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट