Techie IT
Hetauda Khabar

हेटौंडाका अधिकांस निजी विद्यालयको लुट धन्दा, अनेक शिर्षक राखेर चर्को रकम असुली, हेटौंडा उपमहानगर चुपचाप

चर्को शुल्कले अभिभावक मारमा, अभिभावक संघ भन्छ- हामीले भनेको स्थानीय सरकारले सुनेन


हेटौंडाका अधिकांस निजी विद्यालयले भर्ना शुल्क वापतको वार्षिक शुल्कका नाममा चर्को रकम असुलेको पाइएको छ ।

एउटै विद्यालयमा अध्यनरत विद्यार्थी नयाँ शैक्षिक सत्रमा उपल्लो कक्षामा जाँदा विद्यालयले वार्षिक शुल्क (अनुअल फी) को नाममा चर्को शुल्क उठाएको पाइएको हो ।

हेटौंडा उपमहानगरपालिका भित्र रहेका अधिकांस विद्यालयले अभिभावकको ढाड सक्ने गरी चर्को शुल्क उठाईरहेको छ । हेटौंडाका नाम चलेका निजी विद्यालयहरुले नियम विपरित विभिन्न शिर्षक राख्दै विद्यार्थी भर्ना गर्दा अभिभावकबाट चर्को शुल्क उठाएका छन्।

चर्को शुल्क उठाउनेमा बाल जागृति मावि, नवोदय शिशु सदन मावि, सोलिडारिटी स्कूल, तासिर मावि, कृष्ण आदर्श मावि, जी एस निकेतन मावि, ब्राम्हदिक माविलगायत विद्यालयले नियमविपरित चर्को शुल्क उठाएको पाइएको हो ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को दफा २८ को उपदफा ५ मा ‘विद्यालयले विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना लिईसकेपछी पुनः सोही विद्यालयले अर्को कक्षा भर्ना गर्नको लागि अन्य कुनै शुल्क लिन पाउने छैन’ भन्ने उल्लेख छ । तर उक्त प्रावधानविपरित यहाँका सबै निजी विद्यालयले अन्य शिर्षक राखी चर्को शुल्क असुलेका छन् ।

विद्यालयले भर्ना गर्ने बेला चर्को शुल्क लिने गरेपछी आफुहरु मारमा परेको अभिभावकले गुनासो गरेका छन् । नियममा शुल्क निल नपाउने भएपनि विद्यालयले भर्ना गर्ने बेला अनेक शिर्षक राखेर रकम असुल्ने गर्दा अभिभावकलाई समस्या भएको भन्दै रकम फिर्ता गर्नुपर्ने अभिभावकहरुको माग छ ।

‘अब हाम्रो बच्चा पढाउन नसकिने भैयो, हरेक वर्ष स्कुलले अनेक शिर्षकमा बिल पठाउछ २ कक्षाको बच्चालाई आधालाख जति भर्ना गर्न लाग्छ’, हेटौंडा-४ का एक अभिभावकले गुनासो गरे ।

हेटौंडा-५ का एक अभिभावक भन्छन्- ‘नियमले भर्ना शुल्क लिन पाउदैन, स्थानीय सरकारले सुचना पनि निकालेको थियो तर हामीले अनुअल फी भनेर ठुलो रकम तिर्नु पर्यो, बोर्डिङ्गहरुको लुट नरोकिने भयो कसले हेर्ने कसले बोल्ने’, ।

यसरी हरेक वर्ष हेटौंडाका निजि विद्यालयले अभिभावकलाई ठगिरहदा सम्बन्धित निकाय भने मौन बस्ने गरेको छ सम्पूर्ण निजी विद्यालयले भर्ना गर्ने बेला अनुअल फी र वार्षिक अन्य शिर्षकको नाममा १० हजारदेखि ३० हजारसम्म लिने गरेका छन् ।

अभिभावक संघको आपत्ती 

हेटौंडाका निजी विद्यालयले शिर्षक परिवर्तन गरेर वर्षैपिच्छे अभिभावकक संग चर्को रकम असुल्दासमेत स्थानीय सरकारले कुनै चासो नदिनु दुखद भएको अभिभावक संघको धारणा छ । संघले पटकपटक आवाज उठाउदासमेत अनुगमन नगर्ने र अनुगमन गरेपनि विद्यालयका संचालकलाई लिएर अनुगमनमा निस्किने गरेकाले अभिभावक मारमा पर्ने गरेको संघकी जिल्ला अध्यक्ष रमिला सापकोटाले बताइन् ।

‘यसमा हाम्रो गम्भीर आपत्ति छ, हामीले पटकपटक घच्घच्याउने काम गर्दासमेत स्थानीय सरकारले बेवास्ता गरेको छ । ‘स्कुल संचालकसंग नजिक भएकाले उहाहरु प्याब्सन बोकेर अनुगमनमा निस्किनु हुन्छ सम्बन्धित निकायले कुनै चासो नदिएकाले अभिभावक मारमा परेका हुन्’,  हुनले भनिन् ।

यो विषयमा तत्काल अनुगमन गरेर विद्यालयले शिर्षक परिवर्तन गरेर लिएको चर्को शुल्क फिर्ता गराउनुपर्ने उनले बताइन्  ।

विज्ञप्ति निकालेर चुपचाप छ स्थानीय सरकार

निजी विद्यालयले खुलेआम लुट मच्चाउदा यहाँको स्थानीय सरकार भने मौन बसेको छ । आफ्नै शिक्षा ऐन कार्यन्वयन गराउन हेटौंडा उपमहानगरपालिकाले सकेको छैन ‘कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना लिईसकेपछी पुनः सोही विद्यालयले अर्को कक्षा भर्ना गर्नको लागि अन्य कुनै शुल्क लिन पाउने छैन’ भन्ने प्रावधान भएपनि हरेक वर्ष हेटौंडामा अभिभावक ठगिने गरेका छन् ।

गत बैसाख १० गते हेटौंडा उपमहानगरपालिकाले एक विज्ञप्ति निकाल्दै भर्ना शुल्क नलिन भनेको थियो । तर यहाँका निजी विद्यालयले त्यसको बेवास्ता गर्दै भर्ना शुल्कको शिर्षक हटाएर अनुअल फी तथा अन्य शिर्षक थपेर चर्को शुल्क उठाएका छन् ।  स्थानीय सरकारले भने यसलाई नदेखे जस्तो गरेर बसेको छ । चर्को शुल्क उठाएको चौतर्फी गुनासो आएपनि हेटौंडा उपमहानगरपालिकाले न कुनै अनुगमन गरेको छ न यो विषयमा थप कुनै काम गरेको छ ।

उता हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख सिताराम कोइरालाले भने नगरको विद्यालयलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुगेकाले त्यसपश्चात अनुगमन गरी बढी लिएको शुल्क समायोजन गरिने बताएका छन् । ‘वर्गीकरणको काम सकिएलगत्तै हामीले अनुगमन गर्छौं र कसैले बढी लिएको पाए मासिक शुल्कमा समायोजन गर्छौं’ उनले भने, ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट