Techie IT
  • १५ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १५ फागुन २०८२, शुक्रबार

मकवानपुरमा बकैया कला-साहित्य महोत्सव फागुनमा हुँदै, ९ जना स्रष्टा सम्मानित हुने


हेटौंडा । झरना साहित्यिक परिवारले यसवर्ष पनि बकैया साहित्य महोत्सव गर्ने भएको छ । झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० हुने भएको छ भने सोहि अवसरमा ९ जना सष्ट्राहरूलाई सम्मान गर्न लागिएको हो ।

ADVERTISEMENT

२०७६ सालबाट सुरु गरेको महोत्सवलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलले जानकारी दिए । सोमबार  हेटौंडामा पत्रकार सम्मेलन गर्दै झरनाले महोत्सवमा स्रष्टासँगै विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने जनाएको छ ।

ADVERTISEMENT

यस बर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँका डा. गीता त्रिपाठी सम्मानित हुने भएका छन् । उहाँलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

यसैगरी, साहित्यको मुक्तक विधातर्फ खोटाङका बाबुराम पोखरेललाई सम्मान गरिने भएको छ । उनलाई साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट सम्मानित गरिने भएको हो । उक्त सम्मान नगद १५ हजार ५ सय ५५ रहेको झरना साहित्य परिवारले जनाएको हो ।

ADVERTISEMENT

जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने मकवानपुरका साम्ब ढकाललाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । नगद १५ हजार ५ सय ५५ राशीको रहेको उक्त पुरस्कार साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् ।

पत्रकारिताको माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएको भन्दै पत्रकार रामकुमार एलनलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको हो । उक्त सम्मानको राशी नगद ११ हजार १ सय ११ रहेको छ । उक्त पुरस्कार स्व। गौतमका माता नन्ददेवी गौतमले स्थापना गरेकी हुन् ।

त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट स्याङ्जाका मिलन समिर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट बिमला कार्की सुसं, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटा र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेको खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट बासुरीवादक बिष्णु घतानीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।

त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई प्रदान गरिने भएको छ । यो पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् ।

झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० फागुन ११ र १२ गते हुने कालीदेवी मावि बकैया–९, शिखरपुरमा हुने सचिव उपासकले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन रचना वाचन र चित्रकला प्रतियोगिता हुनेछ । यसैगरी बकैया बिशेष रचना वाचन पनि पहिलो दिन नै हुनेछ ।

यसैगरी कला साहित्य महोत्सवको दोस्रो दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचनरगायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुने झरनाले जनाएको छ ।

झरनाले विगतदेखि नै विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

सोही क्रमको निरन्तरता स्वरूप यसवर्षको महोत्सवमा पनि साहित्यकार, पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका सचिव मसान उपासकले बताए ।

झरना २०५० सालमा साविक छतिवन गाविस ९हाल बकैया गाउँपालिका० मा स्थापित भई हालसम्म क्रियाशील मकवानपुरको अग्रणी साहित्यिक संस्था मध्येको एक हो ।

यसले मासिक साहित्य शृङ्खला सञ्चालन, ‘झरना’ नामक अर्धवार्षिक पत्रिका प्रकाशन, प्रकाशन कोषमार्फत् साहित्यिक कृतिहरू प्रकाशन लगायत विविध साहित्यको क्षेत्रमा विविध गतिविधिहरू गरिरहेको छ ।

स्थापना कालदेखि नै साहित्यिक कार्यक्रमहरू गर्ने र विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई साहित्यमा लाग्न प्रेरित गर्ने अभियानहरू सञ्चालन गर्दै आएको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८० माघ २३, ०८ :३८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट